सन्दीपले विश्वकप खेल्ने/नखेल्ने फैसला जेठ १ मा हुने (भिडियो)

Featured Video Play Icon

साझा कथा । नेपालका चर्चित क्रिकेट खेलाडी लेग-स्पिनर सन्दीप लामिछानेले आईसीसी टी-२० विश्वकप खेल्न पाउने सम्भावना अझै पनि जीवितै छ ।

विश्वकप क्रिकेटको नवौं संस्करणका लागि नेपाली टोलीको नाम पठाइसकेपनि उचित कारण देखाएर उक्त टोलीमा हेरफेर गर्न सकिने अवस्था रहेका कारण सन्दीपले विश्वकप खेलेको हेर्ने आम नेपालीको सपना अझै पूरा हुन सक्छ ।

आईसीसीले विश्वकपमा सहभागी राष्ट्रहरूलाई उचित कारण देखाएर आफ्नो टोलीमा हेरफेर गर्न मे २४ तारिखसम्मको समय दिएको छ । त्यसैले, त्यो समयभित्र हरेक राष्ट्रले आफ्नो टोलीमा परिवर्तन गर्न सक्ने सम्भावना रहन्छ ।

अहिले सन्दीपको सुनुवाइका लागि तोकिएको पछिल्लो मिति अर्थात् जेठ १ गते भनेको मे १४ तारिखमा पर्छ । त्यसपछि पनि विश्वकपमा सहभागी राष्ट्रहरूले आफ्नो टोलीमा परिवर्तन गर्न पाउने समय १० दिन बाँकी रहन्छ । त्यसैले, अन्य कुनै प्रतिकूल परिस्थिति सिर्जना नभएमा र सन्दीपले जेठ १ गते उच्च अदालत पाटनबाट सफाइ पाएमा उनले विश्वकप खेल्न पाउने छन् ।

सन्दीपको मुद्धा गत बैशाख २३ गतेका लागि तोकिएको थियो । तथापी, उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुंगेलको संयुक्त इजलासमा परेको सो मुद्धा हर्न नमिल्ने सूचीमा राख्दै जेठ १ गतेका लागि सारिएको हो । पुनश्चः सो मुद्धालाई अदालतले समेत पहिलो प्राथमिकतामा राखेर सुनुवाइ गर्न आदेश दिएको छ ।

अदालतको आदेश पालनामा समेत अलमल भएपछि यतिबेला क्रिकेटर लामिछानेका समर्थकले सामाजिक सञ्जालदेखि सडक आन्दोलनसम्म गरेर दबाब दिइरहेका छन् । यो दबाबले साँच्चैनै बल पुग्यो र सन्दीप लामिछानेले न्याय पायो भने सन्दीपले विश्वकप खेलेको हेर्ने आम नेपालीको सपना पूरा पो हुने हो कि ?

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?