साझाकथा संवाददाता
पाेखरा, पुस १७
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरे । आज आयोजित भव्य कार्यक्रमकाबीच उनले ताम्रपत्र अनावरण गर्दै विमानस्थलको औपचारिक रुपमा उद्घाटन गरे ।
विमानस्थल उद्घाटनका लागि प्रधानमन्त्री दाहाल शनिबार बिहान राजधानी काठमाडौँबाट पोखरा पुगेका थिए । उनकाे साथमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल पनि छन् ।
विमानस्थल क्षेत्रमा हेलिकप्टरमार्फत् पुष्प वृष्टि गरिएको थियो । उद्घाटन समारोहमा पोखराबासीको उत्साहजनक सहभागिता रहेको थियाे । आज अन्तर्राष्ट्रिय उडान भने भएकाे छैन ।
अन्तर्राष्ट्रिय उडान फागुन दोस्रो सातापछि मात्रै खुल्ने बताइएको छ ।अन्नपूर्ण हिमशृंखलाको आँगनमै बनेको अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनको खुसियालीमा पोखरा महानगरले आइतबार १ दिन सार्वजनिक बिदा समेत दिएको छ ।
चिनियाँ बैंकको ऋण सहयोगमा यो विमानस्थल निर्माण गरिएको हो । यो नेपालको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको हो ।