सिन्धुपाल्चाेक, पुस २१
काठमाडौँदेखि एक सय २४ किलोमिटर दूरीमा रहेको तातोपानी नाका कुनै समय गुलजार थियो । चिनियाँ बजारमा सामान खरिद गर्न पुग्ने व्यापारी र उपभोक्ताका कारण तातोपानी नाकामा चहलपहल निकै बढी थियो ।
तर २०७२ साल वैशाखमा आएको भूकम्पपछि भने तातोपानी नाकाको मुहार फेरिएको छ । अहिले समय भूकम्पले भत्काएका जीर्ण भवन र सीमा सुरक्षार्थ प्रहरी कार्यालय बोहक अरु छैन । कुनै रेष्टुराँ र होटलमा भ्याइनभ्याइ हुने यो क्षेत्रमा यति बेला एउटा पनि होटल तथा रेष्टुराँ छैन ।
चीनसँग जोडिएको नेपालको सबैभन्दा पुरानो नाकाबाट भूकम्पपछि आंशिक रूपमा आयात खुला भएको चारवर्ष भए पनि निर्यात बन्द भएको सात वर्ष भइसकेको छ । जसका कारण चहलपहल शून्य जस्तै अवस्थामा पुगेको हो ।
तातोपानी नाका नियमित सञ्चालन नभएपछि मितेरीपुलदेखि चीन–नेपाल दुवैतर्फको करिब पाँच किलोमिटर क्षेत्रमा चहलपहल छैन । यो नाकाबाट कहिलेकाँही मात्र सामान आयात भने भइरहेको तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दयानन्द केसीले बताउनुभयो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वमा नयाँ सरकार भएपछि चीन सरकारले तीन वर्षदेखि बन्द रहेका रसुवागढी र हुम्ला नाका खोलेको छ ।
हाल रसुवागढी नाकाबाट निर्यात सुरु भएको छ भने यारी नाकाबाट आयात भइरहेको छ । तर व्यवसायिक रुपले महत्वपूर्ण मानिएको सिन्धुपाल्चोकको तातोपानी नाका तीन वर्षदेखि पूर्ण रुपमा खुलेको छैन ।
केरुङबाट कन्टेनर ल्याउँदा ढुवानी भाडा बढी लाग्ने भएकाले नेपाली व्यापारीहरु तातोपानी नाकाबाटै सामान ल्याउन खोज्छन् ।
नेपाल च्याम्बर अफ कमर्शका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठ कोटा तोक्नेभन्दा पनि आवश्यक सामग्री ल्याउने गरी चीन सरकारले वातावरण बनाउनुपर्ने बताउनुहुन्छ । चीनमा तीन वर्षदेखि जारी बन्दाबन्दी अहिले मात्रै हटेकाले नाकाबाट आयात–निर्यात खुला हुने स्थानीयमा आशा भने कायमै छ ।
चिनियाँ पक्षले बन्दाबन्दी हटेपछि खासाबाट पहिलेको तुलनामा बढी कन्टेनर नेपाल पठाउन थालेका छन् ।
लामो समयदेखि नाका नखुल्दा त्यहाँ कार्यरत मजदूरहरु समस्यामा परेको नेपाल ट्रक कन्टेनर ढुवानी सेवाका अध्यक्ष अर्जुनबहादुर सापकोटाले बताउनुभयो । “सामान लोड र अनलोड गर्ने मजदुरहरुलाई काम नै पुगेको छैन”, उहाँले भन्नुभयो, “आयात र निर्यात पहिले झैँ भयो भने उनीहरुले पनि काम पाउँछन् ।”
नाका बन्द हुँदा त्यहाँ कार्यरत व्यवसायीहरु पलायन हुन थालेका छन् । लिपिङमा झोले पोके व्यापार र पर्यटकको भारी बोकेर गुजारा गर्ने स्थानीयहरु विदेश जान बाध्य भएका छन् ।
भोटेकोसी गाउँपालिकाको पाँच वटा वडा र बाह्रबीसे नगरका दुई वटा वडाका अधिकांश स्थानीय विदेश पलायन भएका हुन् । भोटेकोसी नारायणथान निवासी शेर्पाले तातोपानी नाका बन्द भएको आठ वर्षयता यस क्षेत्रका अधिकंश घर खाली भएको र धेरैजसो विदेश गएको बताउनुभयो ।
राससबाट